आर्य ताराको त्रि-उत्तम अभ्यासको इतिहास

आर्य ताराको त्रि-उत्तम समुह

छोकि निमा रिन्पोछेले वर्षौंसम्म अथक रूपमा पश्‍चिमी मुलुकहरूमा त्यहाँका नयाँ शिष्यहरूलाई धर्मदेशना गर्दै यात्रा गरिरहनु भयो । सबैजना उहाँबाट बुद्धधर्मका उपदेशहरू पाउन निकै आतुर थिए। उहाँले वज्रयानका अत्यन्तै गुह्य र गम्भीर उपदेशहरू पनि शिष्यहरूको झुकाव र आशय अनुसार प्रदान गर्नुभयो । उहाँले केही पनि लुकाउनु भएन। उहाँको बौद्ध परम्पराको मुख्य विशेषता नै शायद त्यही नै हो । उहाँ आफ्ना शिष्यहरूका लागि ठूलो प्रेरणाको श्रोत हुनुहुन्छ । सबै शिष्यहरू उहाँको हृदयागमबाट व्यक्तिगत रूपमा अत्यन्तै प्रभावित थिए । त्यो आगम गुरुको हृदयबाट निस्केर शिष्यको हृदयमा प्रवेश गर्ने आगम थियो। अझ महत्त्वपूर्ण कुरा के हो भने ती सबै शिष्यहरू गुरुबाट आफूले पाएका सबै उपदेशहरूलाई आफ्नो दैनिक जीवनमा उतार्न सफल भएका छन् ।

पश्‍चिमी मुलुकको अत्यन्तै व्यस्त जीवनमा दैनिक धर्म अभ्यास एउटा ठूलो चुनौति थियो। त्यो चुनौति छोकि निमा गुरुलाई राम्रोसँग थाहा थियो। धर्म प्रवचनहरू सुनेपछि र साधना शिविरहरूमा भाग लिएपछि पनि फेरि गृहस्थ दैनिक जीवनको तामझाम, अस्तव्यस्तता र जञ्‍जालका कारण धेरैको धर्म अभ्यास प्रतिको भित्रि जागरण र प्रेरणा विस्तारै हराउँदै गइरहेका थिए ।
त्यसकारण, केही शिष्यहरूले त्यस्तो एउटा लचिलो अनलाईन अभ्यास कार्यक्रमको शुरुवात गर्ने प्रस्ताव राख्‍नुभयो । त्यसैको फलस्वरूप अनलाईन आर्यताराको त्रि-उत्तम भावनाभ्यास कार्यक्रमको बीजारोपन भयो ।

वि.सं. २०६७ सालमा लामा तेन्जिन् साङ्‍पोले छोग्युर् देछेन् लिङ्‍पाको आर्यताराको सार (डोल्मा स्हाब्टिक) तेर्मा अनुवादक हाइडि कोप्पल्‎लाई देखाउनुभयो। यो तेर्मा आर्य ताराबाटै उत्पन्‍न भएको थियो। यो तेर्माका अत्यन्तै सारगर्भित, सरल र व्यवहारिक उपदेशहरूबाट लामा तेन्जिन साङ्‍पो अत्यन्तै प्रभावित हुनुहुन्थ्यो। हाइडि पनि निकै प्रभावित र उत्साहित हुनुभयो र यो तेर्मा गुरु छोकि निमा रिन्पोछेलाई देखाउनुभयो । गुरु पनि अत्यन्तै प्रभावित र आश्‍चर्यचकित हुनुभयो । उहाँ यतिसम्म प्रभावित र प्रसन्‍न हुनुभयो कि, पछि उहाँले यसैलाई एउटा अति उत्तम आधार बनाएर एउटा क्रमिक अनलाईन भावनाभ्यास कार्यक्रम नै बनाउने निधो गर्नुभयो। उहाँले यसका लागि आवश्यक अभिषेकहरू पनि दिनुभयो ।

त्यसपछि गुरु छोकि निमा रिन्पोछेको व्यापक र कुशल तत्त्वावधान र सुपरिवेक्षणमा, लामा तेन्जिन् साङ्‍पोको सानिध्यता र मार्गदर्शनमा हाइडिले यसै तेर्माको आधारमा दैनिक अनलाईन भावनाविधिहरू तयार र विकसित पार्दै लैजानुभयो । त्यसको लगत्तै पछि माइकल एसेन्बकले पनि यो कार्यमा साथ दिनुभयो । उहाँले यो कार्यक्रमको प्राविधिक पक्षसँग सम्बन्धित एकदमै कठीन कार्यभार सम्हाल्न थाल्नुभयो । इसोबेल जोन्स दैनिक अनलाईन भावनाभ्यासको वाचिका (narrator) बन्‍नुभयो । उहाँले आर्य तारा त्रि-उत्तम अनलाईन भावनाभ्यासको कार्यक्रमलाई एउटा अत्यन्तै सुमधुर, सुन्दर तर प्रमाणिक ‘अक्सफोर्ड अंग्रेजी’ शैली (गुरुले सधैं त्यस्तै भन्‍नुहुन्छ ।) को आवाज प्रदान गर्नुभयो । त्यो बेला, धर्मचक्र अभ्यास समूह (अहिले आएर तारा त्रि-उत्तम समूह बनेको छ।) को स्थापना भयो। यस कार्यक्रमको प्रारम्भिक चरणमा क्याथलिन् मोरिस र आनि चोन्डुले समूहलाई अमूल्य योगदान र साथ दिनुभएको थियो ।

उद्‍घाटन र पहिलो प्रचारप्रसार

२०६८ सालको पौष महिनातिर आर्यताराको त्रि-उत्तम अनलाईन भावनाभ्यासको कार्यक्रमको पहिलो खण्डको उद्‍घाटन गरियो । त्यसको दुई महिनापछि अनलाईन तेर्माको निर्माण कार्यमा मद्दत गर्न निका जोभिच् कार्यक्रम संयोजकका रूपमा मुख्य निर्माण समूहमा समिल्लित हुनुभयो र भावनाभ्यासहरूको सम्पादकका रूपमा माइकल फ्रेडमेनले आफ्ना हात अगाडि बढाउनुभयो । उद्‍घाटनको लगत्तै पछि विश्‍वभरका सहभागीहरूले आ-आफ्नो देशको राष्‍ट्रिय भाषामा अनुवाद गरेर सो कार्यक्रम उपलब्ध गराउने प्रस्ताव गरे। करीब दुई वर्षसम्म नीका ले अनुवाद समूहहरूको समन्वय गर्नुभयो । पछि स्पेनिस समूहको पहिलो संयोजकका रूपमा रहनुभएकी तातियाना ताग्ले ले मुख्य समुहमा प्रवेश गर्नुभयो र आर्य ताराको त्रि-उत्तम कार्यक्रमलाई विभिन्‍न भाषाहरूमा अनुवाद गर्ने एकदमै कठीन कामलाई एकदम समर्पित भावले संयोजन गर्दै अगाडि लग्‍नुभयो ।

२०६८ सालको कार्तिक महिनामा धर्मचक्र अभ्यास समूह काठमाडौंको दक्षिणतिर रहेको सानो सहर फर्पिङ्‍मा प्रथम तारा ध्यान शिविर सञ्‍चालन गर्न सफल भयो। त्यसबेलादेखि अहिलसम्म पनि त्यो ध्यान शिविर गुरु छोकि निमा रिन्पोछेको राङ्ज्युङ् येशे सेमिनार हुनु अघि निरन्तर रूपमा वार्षिक रूपमा सञ्‍चालन हुँदै आइरहेको छ ।

निरन्तर वृद्धि

आर्यताराको त्रि-उत्तम समूहमा केही वर्षदेखि विस्तारै अभिवृद्धि भइरहेको छ । मोडरेट गरिएको फोरमलाई सक्रीय राख्‍ने अहम जिम्मेवारी साल्लि वारेनले लिनुभएको छ। जब दोस्रो उत्तमको दोस्रो खण्डको निर्माण सुरु भयो, त्यसबेला दैनिक भावनाअभ्यासको सम्पादक उहाँ नै बन्‍नुभयो । त्यसको लगत्तै पछि ह्यारल्ड हान्सेन् र तातियाना ताग्ले पनि समूहमै आउनुभएकोले माइकल एसेन्बकलाई थप साथ र मद्दत मिल्यो ।

२०७२ सालको हिउँदो महिनामा जेनिया मोरोजोभा प्रमुख ग्राफिक डिजाइनरका रूपमा समूहमा आबद्ध हुनुभयो । २०७२ सालको चैत महिनातिर धर्मचक्र अभ्यास समूहकै सुपरिवेक्षणमा धर्म रत्‍न विक्रीभण्डार खोलियो । त्यसको मुख्य उद्देश्य आर्य तारा त्रि-उत्तम साधकहरूलाई गुणस्तरीय र शुद्ध, पूजाविधि र पूजाकोठामा आवश्यक सामग्रीहरू उपलब्ध गराउनु थियो । नाता क्र्योलाप्चुक् सो भण्डारको व्यवस्थापक बन्‍नुभयो ।

२०७२ सालकै हिउँदो महिनामा समूहद्वारा रणनीतिगत योजना निर्माण र समूह व्यवस्थापनमा सहयोगी भूमिका निर्वाह गर्न ग्रेग ह्वाइटसाइटलाई अनुरोध गरियो । माइकल एसन्बक्‎ले ‘धर्मसन्’ को निर्देशक पद सम्हाल्नुभयो भने हाइडि कोप्पलले आर्यतारा त्रि-उत्तम अनलाईन भावनाभ्यास कार्यक्रमको निर्देशक भएर काम गर्न थाल्नुभयो । ‘व्यवस्थापन समूह’ अन्तर्गत प्रमुख सम्पादकको पदमा हाइडि कोप्पल, निर्माणप्रमुखको पदमा निका जोभिच् र बित्तीय तथा जनसंसाधन स्रोतको प्रमुख पदमा तातियाना ताग्ले रहनुभएका थिए ।

हालका विकासक्रमहरू

धर्मचक्र अभ्यास समूहको नामलाई परिवर्तन गरेर तारा त्रि-उत्तम समूह राखियो । साचा मुलिन्सले उदार मनले त्रि-उत्तममा अर्को नयाँ आवाज दिन सुरु गर्नुभयो। सन् २०१७ को अन्त्यतिर वा २०७५ को हिउँदो महिनातिर साल्लि वारेनले तारा त्रि-उत्तमका ‘सहभागीहरूको विस्तार (participants outreach)’ का का बारेमा अनुसन्धान गर्ने कार्य थाल्नुभयो। यस कार्यमा ज्याक् फ्रेउदेन्हेइम्‎ले सक्दो प्राविधिक सहायताहरू प्रदान गरेर मद्दत गर्नुभयो। आन्द्रेया ग्लापाले विभिन्‍न भाषाका अनुवादकहरूको समूहलाई समन्वय गर्दै हुनुहुन्छ । निका जोभिच्‎ले अंग्रेजी त्रि उत्तम निर्माण कार्यलाई सुचारु रूपमा जारी नै राख्‍नुभएको छ । जेनिया मोरोजोभाले त्रि-उत्तमको बजार र सञ्‍चार व्यवस्थापन सम्हाल्नु भएको छ । लौरा सुल्ज हान्सेन् पनि समूहमा सहभागी हुनुभयो र उहाँको साथमा पहिलो कोष संकलन अभियानको सुरुवात भयो। त्यसबेलाको नारा थियो, ‘यी अमूल्य उपदेशहरूका लागि दिल खोलेर दान गर्नुहोस् ।’ मोनिका थन्डरले पनि त्रि-उत्तम समूहको सुपरिवेक्षण र मार्गदर्शनमा नयाँ साधकहरूको कार्यक्रममा काम थाल्नुभयो । लिज् मिल्लरले आफ्नो अति उत्तम सम्पादन दक्षताका साथमा त्रि-उत्तमका अन्य विभिन्‍न परियोजनाहरूलाई पनि निरन्तर रूपमा सहयोग गरिरहनु भएको छ।

वर्तमान समय

त्रि-उत्तमका सहभागी साधकहरूलाई सहयोग गर्न र उहाँहरूलाई विश्‍वभरीका अन्य साधकहरूसँग जोड्न २०७५ साल पौष महिनामा प्रथम साप्‍ताहिक त्रि-उत्तम मासिक छलफल समूहको स्थापना भयो । त्यसमा जर्ज उडार्ड र लिज् मिल्लर सहजकर्ताको रूपमा हुनुहुन्छ। त्यसको केही महिनापछि सहभागीहरूको विस्तार परियोजनाले पहिलो मासिक छलफल समूह कार्यक्रम सञ्चालन गर्‍यो । सो कार्यक्रममा लामा तेन्जिन् र गुरु छोकि निमा रिन्पोछेसंग व्यापक प्रश्‍नहरू सोधिएका थिए। हाम्रो समूहकी सबैभन्दा नयाँ सदस्य जुलि कायेले पनि विषय निर्माण तथा विकास र बजार व्यवस्थापनमा अति उत्कृष्‍ट ढंगले आफ्नो दक्षता प्रदर्शन गर्नुभयो ।

आर्यतारा त्रि-उत्तम कार्यक्रममा अहिले जम्मा ७० जना स्वयंसेवकहरू हुनुहुन्छ । उहाँहरू सबैले एकदमै परिश्रमपूर्वक आर्यतारा त्रि-उत्तमलाई आ-आफ्नो भाषामा अनुवाद, सम्पादन, वाचन तथा भिडियो निर्माण र सम्पादन गर्दै हुनुहुन्छ। यसरी उहाँहरूले अंग्रेजी त्रि-उत्तम समूहका विभिन्‍न परियोजनाहरूलाई गुरु छोकि निमा रिन्पोछे र लामा तेन्जिन् स्हाङ्‍पोका उपदेश र सेमिनारहरूलाई अनुवाद गर्ने काम गरेर सक्दो सहयोग पुर्‍याउँदै हुनुहुन्छ ।

आर्यतारा त्रि-उत्तम समूहका संयोजकहरू

रसियन् समूह संयोजकः ओल्गा एन्तोनोभा
जर्मन समूह संयोजकः जोहानेस यान्सेन्
स्पेनिस समूह संयोजकः तातियाना ताग्ले
फ्रेन्च समूह संयोजकः साम्तेन
पोर्चुगिज् समूह संयोजकः पाउला रोजिन्
नेपाली समूह संयोजकः रोशन बहादुर शाक्य
डेनिस समूह संयोजकः काज हान्सेन्
नर्वेजियन् समूह संयोजकः सुजान् बान्चेल
भियतनामी समूह संयोजकः लिन् फन्
इन्डोनेशियन् समूह संयोजकः जुनि
हंगेरियन् समूह संयोजकः ब्रिगित्ता
क्रोएशियन समूह संयोजकः माजा जिभ्कोभिच्