• छोकि निमा रिन्पोछे

    छोकि निमा रिन्पोछेज्यू वि.सं. २००८ सालमा टुल्कु उर्ग्येन् रिन्पोछेज्यूको सबैभन्दा जेठो सुपुत्रका रूपमा जन्मिनु भएको थियो। का-ञ्यिङ् शेडुप्‎लिङ् गोन्पाको उद्‎घाटन विक्रम संबत (वि.सं.) २०३३ सालमा भएको थियो। त्यसबेलादेखि नै उहाँले गोन्पाको उपाध्यायको हैसियतले गोन्पाको काम सम्हाल्दै आउनुभएको छ। उहाँले सो गोन्पा र अन्य सम्बन्धित गोन्पा तथा संस्थाहरूको पनि कुशल ढंगले रेखदेख गरिरहनु भएको छ। उहाँले करीब ५०० जना भिक्षु तथा भिक्षुणीहरूको व्यक्तिगत कल्याण र धार्मिक शिक्षाका लागि जिम्मेवारी बहन गरिरहनु भएको छ। करीब ३५ वर्षसम्म उहाँले नेपाल र विश्‍वभरीका शिष्यहरूलाई प्रवचन दिँदै आउनुभएको छ। अध्ययन, अभ्यास र सामाजिक कार्यमा समर्पित बौद्ध केन्द्रहरूको विश्‍वव्यापी सञ्‍जालको संस्थापक र प्रमुख पनि उहाँ नै हुनुहुन्छ।

    थप जानकारी: छोकि निमा रिन्पोछे
  • लामा तेन्जिन् साङ्पो

    लामा तेन्जिन् साङ्पोको जन्‍म तिब्बतको धिङ्ररी क्षेत्रमा वि.सं. २०२४ सालमा भएको थियो। वि.सं. २०३३ सालमा उहाँ तिब्बतबाट काठमाडौं आउनुभयो। त्यसपछि का-ञ्यिङ् शेडुप्‎लिङ्‎मा प्रब्रज्या लिएर त्यही गोन्पाको परम्परागत बौद्ध शिक्षाको थालनी गर्नुभयो । उहाँले परम्परागत तीन वर्षे तीन महिने पुरश्‍चरण साधना अर्थात् गुफावास पनि सफलतापूर्वक सम्पन्‍न गरिसक्‍नु भएर धेरै वर्षसम्म गोन्पाका अति व्यापक बौद्ध पूजाहरूमा ‘पाठवाचन गुरु’ का रूपमा सेवा गर्नुभएको थियो । उहाँ का-ञ्यिङ् शेडुप्‎लिङ्‎ गोन्पाका एक सर्वाधिक विद्वान् तथा सम्मानित लामा हुनुहुन्छ ।

    थप जानकारी: लामा तेन्जिन् साङ्पो
  • आर्य ताराको त्रि-उत्तम समुह

    आर्यतारा त्रि-उत्तम एउटा तेर्मा वा निधि उपदेश हो। यो तेर्मा उपदेश छोग्युर् देछेन् लिङ्‍पा (सन् १८२९-१८७०) ले पत्ता लगाउनु भएको थियो । उहाँले सो तेर्मा स्वयं आर्य ताराबाट प्राप्‍त गर्नुभएको थियो । अतः सो तेर्मा उपदेश छोग्युर् देछेन् लिङ्‍पादेखि अहिले हामीसम्म आइपुगेको छ। यो तेर्माको परम्परा छोग्युर् देछेन् लिङ्‍पाबाट सुरु भएर धेरै सिद्ध गुरुहरूको परम्पराबाट गुरु छोकि निमा रिन्पोछेज्यूसम्म प्रसारित हुँदै आएको छ । अहिलेको युग, विज्ञान प्रविधिको युग हो । अहिले यो विज्ञान प्रविधिको युगको लाभ उठाउँदै यी दुर्लभ उपदेशहरूलाई विश्‍वभरी एकदमै सहज, सुलभ र आजकै प्राविधिक संरचनामा उपलब्ध गराउन गुरु छोकि निमा रिन्पोछेज्यू र आर्यतारा त्रि-उत्तम समूह सफल भएको छ ।

    थप जानकारी: आर्य ताराको त्रि-उत्तम समुह