प्रायः सोधिने प्रश्नहरू
1.आर्य ताराको त्रि-उत्तम अभ्यास किन अरू ध्यान अभ्यास भन्दा फरक छ?
त्रि-उत्तम अभ्यास बौद्ध धर्मको जग रहेको श्रावक यान देखी महायान हुँदै वज्रयान को दृष्टिसम्म पुग्ने अभ्यास क्रम हो, जून विधि आजसम्म पनि तिब्बती बौद्ध धर्मको आधिकारिक विधिको रूपमा मान्यता प्राप्त छ । यस त्रि-उत्तम अभ्यास अनलाइनमा रूपान्तरण भएता पनि यसको अभ्यासक्रमहरु, सबै प्राचिन भारत, नेपाल र तिब्बतको गुरु परम्परा अनुरूप नै रहेका छन।
आर्य तारा त्रि-उत्तम अभ्यासले साधकलाई क्रमै सँगै अभ्यास र अनुभूतिको विकास गराउँदै पूर्ण निर्वाणको मार्ग निर्देशन गर्दछ । यस अभ्यासको मूल आधार र श्रोत, बुद्धत्वको स्त्री प्रतिमूर्ति आर्य तारा देवीको अभ्यासबाट हामी मार्गको सुरु देखी अन्त्यसम्म निर्देशित हुनेछौ ।
२. आर्यतारा त्रि-उत्तम अनलाईन भावनाभ्यास कार्यक्रमको संरचना के हो?
१. बिहान उठ्ने अभ्यास यो अभ्यास, छापा र अडियो फाइलमा पनि उपलब्ध छ र यो अभ्यास लगभग ५ मिनेटको हुन्छ।
२. बिहानको अभ्यास यो अभ्यास भिडियो फाइलमा उपलब्ध छ र पहिलो उत्तमका लागि हामीले यो अभ्यास ३० देखि ४५ मिनेट गर्नुपर्नेछ।
३. दैनिक निर्देशित भावनाभ्यास यो अभ्यास भिडियो फाइलमा उपलब्ध छ । हामीले यो अभ्यास ३० देखि ४० मिनेट गर्नुपर्नेछ । यसमा दिनभरीका लागि स्मृति अभ्यास पनि समावेश गरिएको छ, जसले बिहानको उपदेश र भावनालाई मजबुत पार्ने काम गर्दछ ।
४. बेलुकी (राति) को अभ्यास यो अभ्यास भिडियो फाइलमा उपलब्ध छ । बिहान र बेलुकीको अभ्यास एउटै हुन्छ । तर यसमा दिनभर बिहानका उपदेशहरूलाई कसरी व्यवहारमा लागु गर्नुभयो भन्ने एउटा प्रश्न पनि समावेश गरिएको छ।
५. सुत्दाखेरीको अभ्यास यो अभ्यास छापा र अडियो फाइलमा उपलब्ध छ । हामीले यो अभ्यास ५ देखि १० मिनेट गर्नुपर्नेछ ।
३. के मैले आर्यतारा त्रि-उत्तम अनलाईन भावनाभ्यास गर्दा गर्दै अन्य अभ्यासहरू पनि गर्न सक्छु?
सक्नुहुन्छ । तर लामा तेन्जिन्का अनुसार हामीले एउटा मुख्य अभ्यास रोज्नुपर्ने हुन्छ। यदि आर्यतारा त्रि-उत्तम अनलाईन भावनाभ्यासलाई तपाईंले मुख्य अभ्यास बनाउनुभयो भने झनै राम्रो हुनेछ।
४. के यो अभ्यास नयाँ साधकहरूका लागि उपयुक्त छ?
उपयुक्त छ । आर्यतारा त्रि-उत्तम अभ्यास नयाँ साधकहरूका साथ साथै पुराना अनुभवी साधकहरूका लागि पनि उपयुक्त छ । त्रि-उत्तम अभ्यासमा सूत्रका उपदेशहरू देखि अनुत्तर योग तन्त्र सम्मका उपदेशहरू पनि क्रमबद्ध रूपमा समावेश गरिएका छन् । हाम्रा विभिन्न अनुभव र बुझाईको स्तर अनुसार तपाईंले यो अभ्यासलाई बुझ्नुहुन्छ। यो अभ्यास थाल्नुपूर्व तपाईंको मनस्थिति जस्तोसुकै भएपनि यो अभ्यास गरिसकेपछि तपाईंले आफूमा अद्वितीय किसिमले परिवर्तन भएको पाउनुहुनेछ । त्यसकारण यसमा चिन्ता लिइरहनु पर्दैन । यो कार्यक्रमले व्यवहारिक दैनिक जीवनमा निकै ठूलो सहयोग गरिरहेको हुन्छ ।
५. गुरुको अर्थ के हो?
संस्कृत शब्द ‘गुरु’ को अर्थ ‘गह्रौं’ हो । यसको भावार्थ ‘प्रचुर गुणहरूले गर्दा गह्रौं भएको’ भन्ने बुझिन्छ । यो शब्दको तिब्बती अनुवाद लामा हो । ‘ला’ भन्नाले अनुत्तर भन्ने बुझिन्छ । अर्थात् त्यो शब्दले ‘सबै अनुत्तर गुणहरू भएका’ र ‘त्यो भन्दा अधिक महत्त्वपूर्ण र दुर्लभ अन्य कोही नभएको’ भन्ने पनि जनाउँदछ । दोस्रो अक्षर ‘मा’ लाई ‘माता’ को रूपमा परिभाषित गर्न सकिन्छ । तसर्थ गुरु शास्ता वा आचार्य हुनुहुन्छ । उहाँ हाम्रो जीवनमा सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ ।
वज्रयान परम्पराका अनुसार तपाईंले वज्रयान अभ्यासका बारेमा प्रत्यक्ष व्याख्या तपाईंको सिद्ध गुरुबाटै पाउनु आवश्यक छ । उहाँले पनि सो मौखिक व्याख्या उहाँका गुरुबाट पाउनुभएको हुनुपर्नेछ । यसलाई अति नै कडाईका साथ पालना गरिएको हुन्छ र अटुट रूपमा प्रसारित भएको हुन्छ । यसलाई कर्ण (कान) आगमको परम्परा भनिन्छ । यो परम्परा बुद्धबाटै शुरु भएर आजसम्म पनि यथावत् कायम नै रहेको छ । आर्य तारा त्रि-उत्तमको साधकको रूपमा तपाईंले यी उपदेशहरू पाउनुहुन्छ र अभ्यास गर्नुहुन्छ । तसर्थ तपाईं पनि यस अटुट परम्पराको अभिन्न अङ्ग बन्नुहुन्छ।
६. आर्य तारा त्रि-उत्तमको अनलाईन भावनाभ्यास कार्यक्रममा दर्ता गर्नका निमित्त के मलाई गुरुको आवश्यकता पर्दछ?
पर्दैन । तरपनि, वज्रयान बुद्धधर्ममा एक निजि गुरु हुनु अनिर्वाय हुन्छ । वज्रयानको यस शिघ्र मार्गमा हिड्नको निमित्त, शिष्यका रूपमा हामीमा गुरु र ईष्टदेव प्रति अगाध श्रद्धा हुनु अनिवार्य छ । यो अभ्यास कार्यक्रममा तपाईंले आर्य तारालाई आफ्नो मूल गुरुबाट अभिन्न रूपमा भावना गर्नुपर्ने हुन्छ । यो आर्य तारा त्रि-उत्तम अभ्यासको अङ्ग नै हो। मूल गुरु वा गुरु भन्ने शब्दले त्यस्तो व्यक्तिलाई मात्र जनाउँदछ जसले तपाईंलाई चित्तको मूल स्वभाव देखाउनुहुन्छ । यदि अझै पनि तपाईंका कुनै मूल गुरु छैन भने आजसम्म तपाईंलाई अत्यन्तै प्रेरणादायी उपदेशहरू दिने गुरुलाई नै भावना गर्दा हुन्छ । आर्य तारालाई आफ्नो मूल गुरुभन्दा अभिन्न रूपमा भावना गर्दा तपाईंले उहाँको रूपलाई परिवर्तन गर्नु पर्ने आवश्यकता छैन । केवल तपाईंको गुरुका करुणामयी हृदय र चित्त आर्यताराको जस्तै छ भनी सोच्नुहोस् । यदि तपाईंको अहिलेसम्म पनि कुनै गुरु छैन भने धन्दा नमान्नुहोस । आर्य तारालाई नै आफ्नो गुरु ठान्नुहोस्।
७. आर्य तारा को हुन्?
आर्य तारा सम्यक् संबुद्ध हुन्। आर्य तारालाई संवृति र परमार्थ अर्थमा बुझ्न सकिन्छ ।
बौद्ध ईतिहास पल्टाएर हेर्यौं भने असंख्य कल्प पहिले एउटा राजाको ज्ञानचन्द्रा नाम गरेकी छोरी थिइन् । त्यतिबेला दुन्दुभिश्वर (अमोघसिद्धि) नामक तथागत हुनुहुन्थ्यो । ज्ञानचन्द्रामा दुन्दुभिश्वर तथागतप्रति अगाध श्रद्धा थियो । उनले बोधिसत्त्व संवर लिँदाखेरी स्त्रीको रूप धारण गरेर सारा प्राणीहरूको उद्धार गर्ने दृढ प्रतिज्ञा गरेकी थिइन् । त्यसकारण उनको नाम नै ‘आर्य तारा’ हुनपुग्यो । प्राणीहरूले उनको नाम लिने बित्तिकै उनले ती प्राणीहरूलाई आठ महा भयबाट उद्धार गर्दछिन् । उनी प्रकाशको वेगमा आएर प्राणीहरूको रक्षा गर्दछिन् । जब हामी आफ्नो हृदय खुल्ला राखेर आर्य ताराको मन्त्र जप्छौं, आर्य ताराले हामी सामु प्रकट भएर तत्कालै हाम्रो उद्धार गर्नुहुन्छ । उहाँको त्यही शिघ्र कर्मण्यताको कारण उहाँलाई ‘तुरे’ भनेर पनि सम्बोधन गरिन्छ ।
आर्य तारा हाम्रै चित्तको स्वभावको अभिव्यक्ति मात्र हुन् । उहाँ हाम्रो आफ्नै चित्तको सहज पूर्ण स्वभाव अर्थात् तथागतगर्भ प्रतिबिम्वित गर्ने दर्पण हुन् । हामीले आफ्नो चित्तको स्वभाव जस्ताको तस्तै रूपमा बोध गर्यौं भने हामीले यथाभूत ज्ञान वा बोधि प्राप्त गर्छौं । हाम्रो त्यो सहज तथागतगर्भलाई ढाकिराख्ने भ्रान्ति र क्लेशहरूलाई हामीले आकाशमा सूर्यलाई छेक्ने बादलको उपमा दिन सक्छौं । जसरी आकाशमा बादल हट्ने बित्तिकै सूर्य स्वतन्त्र रूपले चम्किन थाल्छ, त्यसरी नै भ्रान्ति र क्लेशहरू हटेर जाने बित्तिकै हाम्रो तथागतगर्भ पनि त्यसरी नै चम्किन थाल्छ । अतः ताराको करुणामयी उपदेशहरूले पनि त्यो सहज र प्राकृतिक सूर्यसमान परिनिष्पण्ण स्वभाव वा तथागतगर्भलाई अति शिघ्र अनावरण गरिदिन्छन् ।
८. देवभावना के हो र कसरी गरिन्छ?
तिब्बती बुद्धधर्ममा आह्वान, देवभावना र मन्त्रजपलाई उपायकौशल्यका रूपमा लिइन्छ । ती उपायकौशल्यहरूद्वारा हाम्रो हृदय कोमल हुँदै जान्छ र हामी आफ्नो प्राकृतिक स्वभावको नजीक पुग्दै जान्छौं । यदि तिब्बती बुद्धधर्ममा तपाईं नयाँ हुनुहुन्छ भने तपाईंले एउटा प्रश्न आफैसँग सोध्न सक्नुहुन्छ । भगवान् बुद्धले सृष्टिकर्ता ईश्वरको अस्तित्वलाई नकार्नुभएको हो भने तिब्बती बुद्धधर्ममा किन यति धेरै देवी-देवताहरूलाई मानिन्छ? ती भावना गरिने देवहरूले विशेष बुद्ध गुणहरू जस्तै प्रज्ञा, ज्ञान, उपायकौशल्य, करुणा, भयबाट रक्षा इत्यादिलाई जनाउनु हुन्छ । उहाँहरू सृष्टिकर्ता ईश्वर वा परमात्मा देवहरू होइनन् । उहाँहरूलाई त हाम्रो आफ्नै प्रभास्वरका अभिव्यक्तिका रूपमा लिइन्छन् । वज्रयान बुद्धधर्ममा सबै प्राणीहरू स्वभावले नै विशुद्ध र पूर्ण हुन्छन् भनी उपदेश दिइन्छ । सारतः हामी पहिलेदेखि नै देव हौं, हाम्रो स्वभाव बुद्ध स्वभाव हो । तर हामीले त्यो स्वभावलाई बिर्सेका छौं । करुणा र ज्ञानले भरिएका बुद्ध देवहरूको भावना गर्दा हाम्रो चित्तका सुषुप्त गुणहरू उजागर भएर बाहिर देखापर्दछन् र हामी सारतः जे हौं त्यही रूपमा आफूलाई चिन्दछौं ।
देवभावना अभ्यासको उद्देश्य हाम्रा स्वार्थी र सांघुरा सामान्य विश्वास र धारणाहरूलाई निराकरण गर्नु हो । अर्को शब्दमा, हाम्रो अहम् र त्यसका द्वयात्मक धारणाहरूले जहिले पनि प्रपञ्चहरू निर्माण गरिराख्छन्, जसले गर्दा हाम्रो जीवन अत्यन्तै दुःखमय हुन्छ । सधैं नयाँ, फरक, राम्रा कुराहरूको लोभ गर्ने यो द्वयात्मक अहम्लाई निराकरण गर्नु नै देवभावनाको लक्ष्य हो । देवभावनाको अभ्यासद्वारा हामीले दुःखमयी सत् र ठोस संसार निर्माण गर्ने हाम्रो पुरानो बानीलाई प्रतिकार गर्दछौं । देवभावनाको प्रकृयालाई तेस्रो उत्तममा विस्तृत रूपमा व्याख्या गरिने छ ।
९. के मैले दुई प्रहरको अभ्यास मध्ये एउटा प्रहरको अभ्यास मात्रै गर्न सक्छु?
गुरुवर छोकी निमा रिन्पोछेज्यूले यो कार्यक्रमलाई यसरी मिलाउनु भएको छ कि सहभागी साधकहरूलाई अभ्यास दोहर्याउन र हरेक उपदेशलाई गम्भीरता पूर्वक हृदयमै बसाउनका लागि पर्याप्त समय उपलब्ध छ । त्यसैकारण हरेक दिन एउटै अभ्यासका दुईवटा प्रहरहरू निर्माण गरिएका छन्।
तरपनि, त्रि-उत्तमको अभ्यास गर्दा मनमा कुनै किसिमको बोझ नहोस् भन्नु नै मुख्य कुरा हो । हामीले जसोतसो मध्यम मार्ग नै रोज्नु पर्दछ । अभ्यास गर्दा कुनै खालका बोझ पनि नहोस्, साथसाथै अति खुकुलोपन, शिथिलता र अल्छिपना पनि नआउन् । कुनै कुनै विशेष दिनहरूमा यदि तपाईंले अभ्यासमा धेरै समय दिन सक्नु भएन भने वा दुईटै प्रहरका अभ्यासहरू तपाईंले गर्न सक्नु भएन भने कमसेकम बिहानको अभ्यास मात्र भएपनि गर्नु पर्दछ। त्यसपछि, दिनभरिका कार्यहरूमा तपाईंले प्रभातकालीन प्रहरको अन्त्यमा बताइएका स्मृति अभ्यासहरूको बारेमा सचेत रहनुपर्ने हुन्छ ।
१०. मैले बेलुकीको अभ्यास गर्न छुटाएँ भने के गर्ने?
तपाईंले बेलुकीको अभ्यास गर्न छुटाउनु भयो भने अर्को दिन बिहान र बेलुकीको अभ्यास फेरि दोहर्याउन सक्नुहुनेछ । वा यदि तपाईंले दिइएको विषयलाई भित्रि हृदयदेखि नै दिनभर अभ्यास गर्नु भएको छ भने अर्को दिनको अभ्यास थाल्न सक्नु हुनेछ ।
११. के मैले त्रि-उत्तमका खण्डहरू दोहर्याएर अभ्यास गर्न सक्छु?
पक्कै पनि सक्नु हुनेछ । जब तपाईंले हरेक उत्तमका लागि आफ्नो नाम दर्ता गर्नुहुन्छ, त्यसबखत तपाईंलाई अतिरिक्त पर्याप्त समय पनि प्रदान गरिएको हुन्छ। किनभने कुनै कुनै उपदेश र भावनाहरू एकचोटि भन्दा बढी नै अभ्यास गर्ने ईच्छा तपाईंमा हुन सक्छ। उदाहरणको लागि, पहिलो त्रि-उत्तममा तपाईंलाई १८ हप्ताका पाठहरू सिध्याउनका निमित्त जम्मा २४ हप्ता दिइएको हुन्छ। तपाईंले अडियो फाइलहरू सित्तैमा डाउनलोड गरेर जहिले र जहाँपनि सुन्न सक्नु हुनेछ। तैपनि, भिडियो लगायत सबै अभ्यास सामग्रीहरू हेर्न वा डाउनलोड गर्नका लागि तपाईंले पुन दर्ता गर्नुपर्ने हुन्छ।
१२. के मैले त्रि-उत्तम अभ्यास गर्दा गर्दै विश्राम लिन सक्छु?
पक्कै पनि सक्नु हुनेछ। कहिलेकाहीं बिरामी पर्दा, अथवा कुनै पारिवारिक परिस्थितिले गर्दा हामीले अभ्यासलाई निरन्तरता दिन नसक्ने हुन्छौं । त्यस्तो अवस्थामा हामीले अभ्यासबाट विश्रामहरू लिनुपर्ने हुन्छ । त्यसकारण ती विश्रामहरूका लागि हामीलाई अक्तिरिक्त समय प्रदान गरिएको हो ।
स्वास्थ्य र अन्य आपदविपदका कारण अभ्यासमा निरन्तरता दिन तपाईंले गाह्रो भयो भने कृपया इमेल मार्फत जानकारी दिनुहोस्। तपाईंको व्यक्तिगत परिस्थितिहरूको आधारमा हामीले तपाईंको अभ्यास अवधिलाई लम्ब्याउन सक्छौं ।
१३. के मैले तीनै वटा उत्तमहरूमा एकैचोटि दर्ता गर्न सक्छु?
एकैचोटि तीनैवटा उत्तमहरूमा दर्ता गर्न सम्भव हुँदैन । जब तपाईंले पहिलो उत्तम सिध्याउनु हुन्छ र तपाईंको अभ्यास अवधिको म्याद नाघेको हुन्छ, तब मात्र तपाईंले दोस्रो उत्तमका निमित्त दर्ता गर्न सक्नुहुनेछ । दोस्रो उत्तमको तेस्रो खण्ड पनि सकेपछि तेस्रो उत्तममा दर्ता गर्नका लागि तपाईंले छोटो प्रश्नको जवाफ दिनुपर्नेछ। साथसाथै तपाईंले अन्तर्वाता पनि दिनुपर्नेछ ।
१४. मैले किन तुरुन्तै दोस्रो वा तेस्रो उत्तम थाल्न सक्दिन?
दोस्रो र तेस्रो उत्तममा पुग्नका लागि सबैभन्दा पहिले पहिलो उत्तम नै सकिएको हुनुपर्दछ । त्यो नै आवश्यकता हो । त्रि-उत्तमका उपदेशहरूको प्रकृति नै यस्तो छ कि तेस्रो उत्तम अभ्यास गर्न चाहनेहरूलाई एकदमै सावधानी पूर्वक जाँच्नैपर्ने हुन्छ ।
१५. यदि दैनिक भावनाभ्यासका केही विषयहरूमा मलाई अप्ठ्यारो महसुस भयो भने के गर्ने?
आर्य तारा त्रि-उत्तममा एउटा राम्रो सँग सञ्चालित मञ्च (मोडरेटेड फोरम) राखिएको छ जहाँ तपाईंले सम्बन्धित विषयमा प्रश्नहरू सोध्न सक्नु हुनेछ वा पुराना अनुभवी साधकहरूबाट अभ्यास सम्बन्धी सुझाव सल्लाहहरू पनि लिन सक्नु हुनेछ ।
१६. मैले अभ्यासका सामग्रीहरू कहाँ भेटाउन सक्छु?
पहिलो उत्तमको पहिलो हप्ताको अन्तमा तपाईंले आफ्नो विषयसँग सम्बन्धित सबै सामग्रीहरू पाउन सक्नु हुनेछ । त्यसमा प्रार्थना पुस्तिका, आर्य ताराको आह्वान, उठ्ने र सुत्ने अभ्यास र अन्य पुस्तिकाहरू पनि पाउनुहुनेछ। तपाईंले अन्य अतिरिक्त उपदेशहरू र प्रार्थना पुस्तिका, भावनाभ्यासका सारांशहरूका साथै तस्विरहरू पनि बेलाबेलामा पाउनु हुनेछ ।
१७. वेबसाइट खोल्न मलाई अप्ठ्यारो भयो भने मैले के गर्ने?
DharmaSun वेबसाइट Mozilla Firefox मा सबैभन्दा राम्रो चल्छ । अन्य web browsers मा हामीले प्राविधिक सहयोगहरू प्रदान गर्न सक्दैनौं ।
१८. के मैले अभ्यासका सामग्रीहरू अरूलाई दिन सक्छु?
गुरुवर छोकी निमा रिन्पोछेज्यूको विशेष निर्देशन अनुसार कृपया यी अभ्यास सामग्रीहरू अरू कसैलाई नदिनुहोला । यी गम्भीर तेर्मा उपदेशहरू हुन् । यी अभ्यासहरू गुरुबाट उपदेश पाएर राम्रोसँग अभ्यास गरिसकेकाहरूले मात्र पाउन सक्दछन् । अन्यथा गोपनीयता तोडिनेछ जुन धर्म, गुरु र संघको लागि हानिकारक हुन सक्दछ । कार्यक्रमका सबै सामग्रीहरू जस्तै प्रिन्ट, भिडियो र अडियो तपाईंको निजि अभ्यासका लागि मात्र हुन् । गुरुवर छोकी निमा रिन्पोछेज्यूले स्पष्ट रूपमा भन्नुभएको छ कि यी अभ्यासका फाइलहरू केवल आर्य तारा त्रि-उत्तम साधकहरू बाहेक अन्य व्यक्तिहरूलाई कपि गर्न दिइनेछैन वा वितरण गरिने छैन । तपाईंको समझदारीता र प्रतिबद्धताका लागि धेरै धेरै धन्यवाद। कृपया गुह्य समय [बाचा] लाई पालना गर्ने प्रतिज्ञा गर्नुहोस् ।
थप प्रश्न उत्तरहरू छिट्टै नै समावेश गरिने छन् । थप जानकारीका लागी इमेल लेखि पठाउनु होला ; tte.nepali@gmail.com