छोकि निमा रिन्पोछे

टुल्कु उर्ग्येन् रिन्पोछेको पहिलो सुपुत्रका रूपमा सन् १९५१ अर्थात् बि.सं. २००८ सालमा तिब्बती चाङ्सार परिवारमा गुरुवर छोकि निमा रिन्पोछेज्यूको जन्म भएको थियो ।
संस्कृत भाषामा उहाँको नाम छोकि निमा रिन्पोछेको अर्थ धर्मादित्य हो । नेपाली भाषामा धर्मादित्यको अर्थ धर्मको सूर्य हो । उहाँलाई दोस्रो शताब्दीका प्रसिद्ध माध्यमिक आचार्य नागार्जुन र ढिकुङ् काग्यु लामा एवं तिब्बती महासिद्ध घार डुब्छेन् को सातौं निर्माणकाय अर्थात् टुल्कुका रूपमा पहिचान गरिएको थियो। टुल्कुको रूपमा उहाँको पहिचान हुनेबित्तिकै उहाँलाई केन्द्रीय तिब्बतस्थित नाग् छुखा क्षेत्रमा अवस्थित ढोङ् गोएन् थुब्तेन् धार्ग्येलिङ् गोन्पामा गद्दी आरोहण गरिएको थियो। त्यो गोन्पा उहाँकै पूर्वज टुल्कुको गोन्पा थियो ।
वि.सं. २०१६ तिर छोकि निमा रिन्पोछे र उहाँको भाई छोग्लिङ् रिन्पोछे दुबैजना भारतको दल्हाउजी स्थित कलिलो उमेरका लामाहरूलाई पढाइने विद्यालयमा भर्ना हुनुभयो । १३ वर्षको उमेरमा उहाँ रुम्तेक गोन्पामा प्रवेश गर्नुभयो । रुम्तेक एउटा तिब्बती बुद्धधर्मको काग्यु परम्पराको मुख्य र प्रसिद्ध गोन्पा हो। रुम्तेकमा उहाँले ११ वर्षसम्म कर्मा काग्यु, ढिकुङ् काग्यु र ङिङमा परम्पराका उपदेशहरू ठूल्ठूला प्रसिद्ध गुरुहरू जस्तै १६ औं ग्याल्वाङ् कर्मापा, क्याब्जे दिल्गो ख्येन्चे रिन्पोछे र क्याब्जे टुल्कु उर्ग्येन् रिन्पोछेबाट पाउनुभयो ।
विभिन्न बौद्ध दार्शनिक शास्त्रहरू जस्तै वसुबन्धुको अभिधर्मकोश, मैत्रेयका पाँच ग्रन्थहरू, धर्मकीर्तिको प्रमाणवार्तिक, शान्तिदेवको बोधिचर्यावतार र चन्द्रकीर्तिको मध्यमकावतार जस्ता ग्रन्थहरूको अध्ययनमा उहाँले पूरै समय बिताउनुभयो । जस्को फलस्वरूप टुल्कु छोकि निमा रिन्पोछेज्यूले सानै उमेरमा ख्येन्पो पद पाउनुभएको थियो ।
वि.सं. २०३१ सालमा छोकि निमा रिन्पोछेज्यूले रुम्तेक छोड्नुभयो। रुम्तेकमा उहाँ १६ औं कर्मापा राङ्ज्युङ् रिग्पे दोर्जेको निजि सहायक हुनुहुन्थ्यो । रुम्तेकबाट काठमाडौं पाल्नुभयो र यही काठमाडौंस्थित बौद्धक्षेत्रतिर आफ्ना पिता, भाईसंगै परिवारमा रहन थाल्नुभयो। बौद्ध स्तूप नजिकैको एउटा ठाउँमा उहाँहरूले का-ङिङ् सेडुप्लिङ् गोन्पा बनाउनुभयो । वि.सं. २०३३ सालमा परमपूज्य कर्मापाले २५ वर्षीय छोकि निमा रिन्पोछेज्यूलाई नवनिर्मित गोन्पाको उपाध्याय वा मठाध्यक्ष बन्नको निम्ति निर्देशन दिनुभयो । उहाँलाई पश्चिमी मुलुकका व्यक्तिहरू माझ भगवान् बुद्धको उपदेश प्रचार प्रसार गर्ने निर्देशन पनि परमपूज्य कर्मापाले नै दिनुभएको थियो। यो लक्ष्यलाई पूरा गर्नको निमित्त छोकि निमा रिन्पोछेले आफ्नो अंग्रेजी भाषामा पनि उल्लेखनीय सुधार ल्याउनुभयो । अनि उहाँले नेपालमा बस्दै आएका पश्चिमी समुदाय र धर्ममा अभिरुची राख्ने विदेशी यात्रुहरूलाई समेत हप्ताका अन्तिम दिनहरूमा धर्म प्रवचनहरू दिने काम थाल्नुभयो । यस्ता निशुल्क प्रवचनहरूका श्रृंखलाहरू अहिले आएर शनिवारिय धर्म साकच्छाको नामबाट चिनिन थाले । आजसम्म पनि ती शनिवारिय धर्म साकच्छाहरू सुचारु रूपमा चलिरहेका छन् ।
छोकि निमा रिन्पोछेज्यूले गहन बौद्ध शिक्षा अध्ययन अध्यापन गर्नका निमित्त राङ्ज्युङ् येशे संस्था (स्वयम्भू ज्ञान संस्था) स्थापना गर्नुभयो । सो संस्था एउटा अन्तराष्ट्रिय बौद्ध कलेज वा शेडा हो जसले अन्तराष्ट्रिय विद्यार्थीहरूलाई गहनतम बौद्ध शिक्षा प्रदान गर्दछ। त्यसबेलादेखि नै राङ्ज्युङ् येशे संस्थाले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेर विशेष गरी विदेशी विद्यार्थीहरूलाई बौद्ध अध्ययनमा शास्त्री शिक्षा (बि.ए.), आचार्य शिक्षा (एम.ए) र विद्यावारिधि साथसाथै स्वदेशी र विदेशी विद्यार्थीहरूलाई हिमाली सम्भोट भाषाको शिक्षा पनि प्रदान गर्दै आइरहेको छ ।
प्रामाणिक बौद्ध साहित्यहरूलाई व्यापक प्रचार प्रसार गर्ने उद्देश्यले छोकि निमा रिन्पोछेले राङ्ज्युङ् येशे प्रकाशन नामक प्रकाशन संस्थाको पनि स्थापना गर्नुभयो। यस प्रकाशन संस्थामा प्रारम्भदेखि नै अनुवादकको भूमिकामा रहँदै आउनुभएका अनुवादक इरिक् कुन्साङ् हुनुहुन्छ । यसका अतिरिक्त रिन्पोछेले धर्मचक्र अनुवाद समूहको पनि स्थापना गर्नुभएको छ । धर्मचक्र अनुवाद समूह सिद्धहस्त अनुवादकहरूको त्यस्तो समिति हो जसले तिब्बती र संस्कृत बौद्ध त्रिपिटकबाटै लिइएका शास्त्रीय बौद्ध ग्रन्थहरूको उच्च स्तरीय अनुवाद र प्रकाशन गर्ने काम गर्दै आइरहेको छ ।
अंग्रेजी भाषामा रिन्पोछेको राम्रो पकड भएकोले वि.सं. २०३४ सालदेखि नै पश्चिमी मुलुकका शिष्यहरूलाई उहाँले बुद्ध शिक्षाहरू दिँदै आइरहनु भएको छ। ती शिष्यहरूको संख्या पनि दिनानुदिन बढ्दै गइरहेको छ । यो बाहेक हरेक वर्ष कार्तिक वा मंसीर महिनामा रिन्पोछेले १० दिने हिउँदे प्रवचन सेमिनार पनि सञ्चालन गर्दै आइरहनु भएको छ। उहाँले धर्मदेशना दिने शीर्षक बुद्धधर्मका निकै आधारभूत उपदेश देखि लिएर वज्रयानका सबैभन्दा गुह्य उपदेश पनि हुने गर्दछन् ।
रिन्पोछेका धेरैजसो तिब्बती बुद्ध धर्मकेन्द्र अर्थात् गोम्देले हाल अमेरिका, अष्ट्रिया, डेनमार्क, फ्रान्स, मलेसिया, रसिया, स्कटल्याण्ड, युक्रेन र संयुक्त अधिराज्यका शिष्यहरूलाई धर्मदेशना दिने र ध्यानशिविरहरूको पनि आयोजना गर्ने कार्य गर्दै आइरहेका छन् । धेरै अन्य देशहरूमा पनि उहाँकै कुशल निर्देशनमा स-साना बुद्ध शिक्षा केन्द्रहरू पनि निर्माण भएका छन् ।
४० वर्षसम्म छोकि निमा रिन्पोछेले का-ङिङ् शेडुब्लिङ्, असुर गुफा पुरश्चरण केन्द्र र नागी गोन्पामा बस्ने करीब ५०० जना भिक्षु तथा भिक्षुणीहरूको कल्याण र आध्यात्मिक शिक्षाको रेखदेख गर्नुभयो। प्रब्रजित साधकहरूको संख्या दोब्बर भएर जाउन् भन्ने उहाँको भित्रि हृदयदेखिको चाहना र ईच्छा हो । प्रव्रजित संघको त्यही उत्तरोत्तर वृद्धिको आशाले नै होला शायद, उहाँका गोन्पाहरू र पुरश्चरण (गुफा) केन्द्रहरूमा एकनाश रूपले सुधारहरू र विस्तारहरू पनि भइराखेका छन् ।
रिन्पोछेको दैनिक जीवनको धेरैजसो समय त तिब्बती र नेपाली उपासक उपासिकाहरूका आध्यात्मिक आवश्यकताहरू पूर्ति गर्न मै व्यतीत हुन्छ। उहाँका कल्याणकारी कार्यहरू कै एउटा हांगाको रूपमा हामीले शेन्फेन् जस्तो सामाजिक सेवा संगठनलाई लिन सक्दछौं । त्यो संगठन गोन्पा वरिपरिका समुदायको उन्नतिका लागि पनि गठन गरिएको हो । त्यो संगठनले पिछडिएका पीडित वर्गहरूका व्यवहारिक आवश्यकताहरू जस्तै स्वास्थ्यसेवा र शिक्षा प्रदान गर्ने देखि लिएर भुकम्पपीडितहरूलाई यथाशिघ्र राहत पुर्याउने काम पनि गरेको छ । यसलाई रिन्पोछे कै पश्चिमी मूलका निकट शिष्यहरूले सञ्चालन गर्दै र व्यवस्थापन पक्ष पनि हेर्दै आएका छन् ।
रिन्पोछेका अनेक कल्याणकारी कार्यहरूका बारेमा थप जानकारीका लागि shedrub.org वेबसाइट हेर्नुहोस् ।